युएइमा बसोबासरत नेपालीहरूका लागि अत्यन्त जरूरी सूचना

संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूले नेपालका साथसाथै युएइको समेत कानुनको पालना गर्दै सामाजिक सञ्जालको सभ्य र मर्यादितरूपमा पालना गर्नुहुन विशेष अनुरोध गर्दछौं । UAE को Cyber Crime Law, 2012 को उल्लंघनमा देशनिकाला, जन्म कैद तथा 50 हजार देखि 30 लाख दिरामसम्म जरिवानाहुने कानुनी प्रावधान रहेको हुँदा सामाजिक सञ्जालका विभिन्न माध्यममा निम्नानुसारका गतिविधिहरू नगर्नु/नगराउनुहुन युएइबासी सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछौं ।

  • सामाजिक सञ्जालका कुनैपनि माध्यम (फेसबुक, ट्विटर, भाइवर, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सअप वा अन्य कुनै) मा अमर्यादित, अशिष्ट, हिंसात्मक, अस्लिल तथा घृणात्मक अभिव्यक्ति लेख्न/बोल्न, फोटो/भिडियोहरू पोष्ट गर्न तथा त्यस्ता अभिव्यक्ति/फोटो/भिडियो मा लाइक, कमेन्ट, सेयर तथा ट्याग नगर्ने ।
  • कसैको (व्यक्तिगत तथा संस्थागत) मानहानी-हुने तथा सार्वजनिक वेइञ्जत/अपमान नगर्ने ।
  • मानव वेचविखन तथा ओसार-पसारजस्ता कार्य नगर्ने/संलग्न नहुने ।
  • हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको गैरकानुनी खरिदबिक्रि नगर्ने/संलग्न नहुने ।
  • उत्तेजना/द्वेष फैलाउने बन्द, हडताल, धर्ना, जुलुस तथा राजनैतिक सभा, सम्मेलन, गोष्ठि नगर्ने ।
  • इस्लाम लगायत कुनै पनि धर्म, जात, समुदाय, संस्कृती, रिती, रिवाज, चालचलन/परम्पराको अपमान वा अवहेलना नगर्ने ।
  • लागू पदार्थ वेचविखन, ओसार-पसार तथा सेवन तथा त्यस्ता कार्यलाइ प्रोत्साहन गर्ने कार्य नगर्ने ।
  • हुण्डि, हवाला वा अन्य कुनै पनि गैर-बैंकिङ्ग माध्यमबाट कारोबार नगर्ने/संलग्न नहुने तथा आयआर्जन/सम्पत्तीको स्रोत खुलाउनु पर्ने ।

युएइ सरकारको सम्बन्धित निकायबाट उल्लेखित कार्यहरूमा संलग्न केहि नेपालीहरूका बारेमा शुक्ष्म निगरानी भैरहेको भन्दै दूतावासमा समेत यसको जानकारी गराएको तथा आवश्यक कारवाहिका लागि सम्बन्धित निकायहरूबाट सहकार्यका लागि अनुरोध गरिएको हुँदा युएइमा बसोबासरत सम्पूर्ण नेपाली नागरिकहरूले नेपाल तथा युएइको साइबर कानुन लगायतका नियम/कानुनहरूको कडाइका साथ पालना गर्नुहुन तथा पालना नगरेको खण्डमा कानुन बमोजिम बाध्य भै कारवाहिका लागि प्रक्रृया अगाडी बढाउनुपर्ने अवस्था आउनसक्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

नेपाली राजदूतावास
अबुधावी, युएइ

विहिवार, 04 मे 2017