राजदूतावासको कन्सुलर सम्बन्धी कार्यविधि र नेपाली आप्रवासी कामदारहरूका लागि सचेतना कार्यक्रम सम्बन्धी प्रेस-विज्ञप्ती

प्रेस-विज्ञप्ती

राजदूतावासको कन्सुलर सम्बन्धी कार्यविधि र नेपाली आप्रवासी कामदारहरूका लागि सचेतना कार्यक्रम

नेपाली राजदूतावास अबुधावीले संयुक्त अरब इमिरेट्सको अल ऐन सहरमा ३० जनु २०१७ तदनुसार १६ असार २०७४ का दिन राजदूतावाको कन्सुलर सम्बन्धी कार्यविधि र नेपाली आप्रवासी कामदारहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय धुन तथा कार्यवाहक राजदूत श्री नेत्र बहादुर टण्डनको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रममा करिब एकसय भन्दा बढिको सहभागिता रहेको थियो ।

दूतावासबाट प्रदान गरिने मुख्यतः कन्सुलर सम्बन्धी सेवा/सुविधा, विधि/प्रक्रिया, सम्बन्धित शाखा/सम्पर्क स्रोत तथा सेवा-शुल्क/समयका साथै दूतावासबाट हालसालै प्रयोगमा ल्याइएका नयाँ सुविधाका बारेमा तृतिय सचिव श्री संगीता न्यौपानेले विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी, कामदारहरूले काममा आउनुपूर्व, कामका सिलसिलामा तथा तत् पश्चात पनि पालना गर्नुपर्ने नियम/कानुन तथा अपनाउनुपर्ने सावधानिका विषयवस्तुहरू सहितको एक सचेतना सम्बन्धी विवरण सहचारी श्री केशवराज पोखरेलले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणपछि सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा सहभागिहरूले राख्नु भएको प्रश्नहरूको जवाफ दिदै कार्यवाहक राजदूतले दूतावासले कामदारका हकहितका विषयमा कुनै पनि सम्झौता नगरी काम गर्ने साथै युएइमा रहँदा यस देशका नियम/कानुनको परिधिमा रहेरमात्र आफ्ना गतिविधहरू गर्न सहभागिहरूलाइ आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा अल ऐन क्षेत्रमा कार्यरत नेपालीहरू, विभिन्न छ वटा कम्पनीहरूबाट प्रतिनिधित्वगर्दै आउनुभएका नेपाली कामदारहरू तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो । द्वितिय सचिव तथा सूचना अधिकारी श्री कृष्ण अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम काउन्सेलर (श्रम) श्री भेष बहादुर कार्कीको धन्यवाद ज्ञापन सहित समापन भएको थियो ।

 

नेपाली राजदूतावास
अबुधावी, संयुक्त अरब इमिरेट्स

३० जुन २०१७ तदनुसार १६ असार २०७४